रेमिटेन्स बढाउन नयाँ जुक्ति : विदेश जानेलाई बैंक खाता खोल्न बाध्य बनाउँदै सरकार
काठमाडौं । सरकारले रेमिटेन्सलाई बैंकिङ प्रणालीमार्फत ल्याएर विदेशी विनिमय सञ्चिति बढाउन वैदेशिक रोजगारीमा जानेलाई बैंक खाता अनिवार्य गर्न लागेको छ। अहिले मुलुकमा कुल रेमिटेन्सको एकतिहाइभन्दा बढी हुन्डीमार्फत भित्रिने अनुमान छ। हुन्डीमार्फत हुने कारोबार रोक्न सरकारले सबै रेमिटेन्स बैंकिङ प्रणालीमार्फत ल्याउन अनिवार्य खाताको व्यवस्था गर्न लागेको हो।
वैदेशिक रोजगार विभागका महानिर्देशक भीष्मकुमार भुसालले विदेशमा कमाएको रकम बैंकिङ च्यानलमार्फत भित्रिओस् भनेर विदेश जानुअघि अनिवार्य बैंक खाता खोल्नुपर्ने नियम बनाइएको बताए। विभागका अनुसार भदौ १६ देखि यो नियम लागू हुँदैछ। पछिल्लो समय विदेशी विनिमय सञ्चितिमा कमीले अर्थतन्त्रमा समस्या आउने संकेत देखिएपछि सरकार असजिलोमा छ।
यसै कारण सरकार विदेशी विनिमय सञ्चिति बढाउन चाहन्छ। रेमिटेन्सलाई बैंकिङ प्रणालीमार्फत भिœयाउन सके विदेशी विनिमय सञ्चितिको समस्या केही हदसम्म समाधान हुने देखेर सरकारले वैदेशिक रोजगारीमा जाने युवाले अनिवार्य रूपमा बैंक खाता खोल्नुपर्ने व्यवस्था गरेको हो। खाता अनिवार्य भएपछि युवाले रेमिटेन्स बैंकमार्फत पठाउनुपर्नेछ।
गत वर्षको ११ महिनामा सात खर्ब ९९ अर्ब रुपैयाँ रेमिटेन्सबापत मुलुकमा भित्रिएको छ। यसको एकतिहाइ झन्डै तीन खर्ब रुपैयाँ हुन्डीमार्फत आउने अनुमान गरिएको छ। सबै रेमिटेन्स बैंकिङ प्रणालीमार्फत आएको भए करिब ११ खर्ब रुपैयाँ हुन्थ्यो। हुन्डीमार्फत पठाएको रेमिटेन्स विदेशी विनिमयमा आउँदैन। युवाले दिएको विदेशी मुद्रालाई हुन्डी गर्ने व्यवसायीले उतै राखी यहाँ नेपाली रुपैयाँ पठाइदिन्छन्।
तर बैंकिङ प्रणालीमार्फत पठाउने रेमिटेन्स भने विदेशी मुद्रामै स्वदेशसम्म आइपुग्छ। विदेशी विनिमय सञ्चितिमा कमी आएका बेला सरकारले युवाले पठाएको यस्तै रकम बैंकिङ प्रणालीमार्फत ल्याउन खोजेको हो। अहिले सरकारसँग सञ्चितिमा रहेको विदेशी विनिमयले मुलुकको आठ महिनाबराबरको वस्तु तथा सेवा आयातको भुक्तानी दिनमात्र पुग्छ। विगतमा यो एक वर्षभन्दा धेरैका लागि भुक्तानी दिन सक्ने अवस्थामा थियो। यो खबर आजको नागरिक दैनिकबाट लिइएको हो।
रेमिटेन्स