बैंकिङ

६५ वर्ष कटेको व्यक्ति वित्तीय संस्थामा सीईओ बन्न नपाउने

६५ वर्ष कटेको व्यक्ति वित्तीय संस्थामा सीईओ बन्न नपाउने

काठमाडौं । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका सञ्चालक र प्रमुख कार्यकारी अधिकृत (सीईओ) को उमेर हद तोकेको छ । नयाँ व्यवस्था अनुसार ६५ वर्ष कटेका व्यक्ति सीईओ बन्न नपाउने भएका छन् । राष्ट्र बैंकले सोमबार परिपत्रमार्फत यस्तो व्यवस्था गरेको हो ।

‘६५ वर्ष नाघेको व्यक्ति बैंक तथा वित्तीय संस्थाको प्रमुख कार्यकारी पदमा नियुक्त वा पुनः नियुक्त हुन पाउने छैन,’ निर्देशनमा भनिएको छ, ‘कोही नियुक्त भइसकेको भए चाहिँ ६९ वर्ष पछि प्रमुख कार्यकारीमा बहाल रहन सक्ने छैन।’

यस्तै, ७० वर्ष भन्दा मुनिका व्यक्ति मात्र बैंक तथा वित्तीय संस्थामा सञ्चालक बन्न पाउने व्यवस्था राष्ट्र बैंकले गरेको छ। ‘७० वर्ष नाघेको व्यक्ति बैंक तथा वित्तीय संस्थाको प्रमुख कार्यकारी पदमा नियुक्त वा पुनः नियुक्त हुन योग्य हुने छैन,’ निर्देशनमा भनिएको छ, ‘कोही नियुक्त भइसकेको भए चाहिँ ७४ वर्ष नाघेको व्यक्ति सञ्चालकमा बहाल रहन सक्ने छैन।’

यो व्यवस्था राष्ट्र बैंकले प्रस्तावित बाफियामा गरेको छ। बाफिया अहिले स्वीकृतिको क्रममा छ। त्यसअघि नै राष्ट्र बैंकले निर्देशन मार्फत यो व्यवस्था ल्याएको हो। यो व्यवस्थाले तत्काल प्राइम बैंकका सीईओ तथा एभरेषट बैंकका अध्यक्षले पद छोड्नुपर्ने छन्। यो समाचार कान्तिपुर दैनिकबाट लिइएको हो ।

सीईओ राष्ट्र बैंकले बैंक प्रमुख कार्यकारी अधिकृत

विशेष