युवाको परिवारलाई ६२ करोड
काठमाडौं । सरकारले वैदेशिक रोजगारीमा गएका नेपाली युवा र उनीहरूको परिवारको कल्याणकारी कार्यमा खर्च गर्ने रकम बढाउदै लगेर ६२ करोड रुपैयाँ पुर्याएको छ । वैदेशिक रोजगार कल्याणकारी कोषमा रहेको रकम वृद्धिसँगै विदेश गएका नेपाली युवाको सहायता रकमको खर्च हुनेदर समेत वृद्धि भएको छ । रोजगार प्रबद्र्धन बोर्डले वैदशिक रोजगारीका गएका नेपालीको कल्याणकारी सेवाका लागि मात्र गएको एक वर्षमा ६२ करोड रुपैयाँ सहायता र कल्याणकारी रकम वितरण गरेको छ ।
बोर्डले आर्थिक वर्ष २०७५–७६ मा वैदेशिक रोजगारीमा गएका युवा र उनीहरूको परिवारको उपचार, तालिम, शिक्षा राहत लगायतका शिर्षकमा ६२ करोड ३६ लाख ४५ हजार रुपैयाँ सहयोग गरेको छ । अघिल्लो वर्ष ६० करोड १८ लाख ७२ हजार २८७ रुपैयाँ खर्च भएकामा गत आवमा सो रकम वृद्धि भएर ६२ करोड ३६ लाख रुपैयाँ पुगेको छ ।
विगत ५ वर्षदेखि कल्याणकारी कोषमा जम्मा भएको रकमबाट सरकारले वैदेशिक रोजगारीमा गएका कामदारको सुरक्षा र अधिकारका लागि मात्र लगभग ३ अर्ब रुपैयाँ खर्च गरेको छ । वैदेशिक रोजगार प्रवद्धन बोर्डले वैधानिक रूपमा वैदेशिक रोजगारीमा गएका युवाको सुरक्षा, व्यवस्थान र व्यवसाय प्रबद्र्धन गर्न आर्थिक वर्ष २०६८–६९ देखि २०७४–२०७५ सम्म मात्र २ अर्ब ८० करोड रुपैयाँभन्दा बढी खर्च गरेको गरिसकेको छ ।
अघिल्लो आवमा मात्र बोर्डले कामदारको कल्याणकारी कामका लागि ६० करोड १८ लाख ७२ हजार २८७ रुपैयाँ खर्च गरेको थियो । बोर्डको अधिकाक्ष कार्यक्रम कामदारले कल्याणकारी कोषमा जम्मा गरेको रकमबाट नै खर्च गरिन्छ । यो समाचार कारोबार दैनिकबाट लिइएको हो ।