अर्थ

फेरि घट्यो सुनको मूल्य

फेरि घट्यो सुनको मूल्य

काठमाडौँ : दुई महिनादेखि लगातार उकालो लाग्दै गएको सुनको मूल्य पछिल्लो साता भने ओरालो लागेको छ।

गत साताको शुक्रबारसम्म वृद्धि भइरहेको सुनको मूल्य आइतबारदेखि ओरालो लागिरहेको छ। शनिबार प्रतितोला रु ७२ हजारमा कारोवार भएको छापावाला सुन आइतबार प्रतितोला रु ५०० ले घटेर रु ७१ हजार ५०० पुगेको थियो।

त्यस्तै मंगलबार सुनको मूल्य घटेर रु ७१ हजार पुगेको थियो। बुधबार भने सुनको मूल्य स्थिर रह्यो। बिहीबार पुनः सुनको मूल्यमा प्रतितोला रु २०० ले गिरावट आयो। बिहीबार छापावाला सुनको मूल्य प्रतितोला रु ७० हजार ८०० कायम भयो।

यसैगरी शुक्रबार पनि पुनः सुनको मूल्य रु २०० सयले गिरावट आएको छ। नेपाली सुनचाँदीको बजारमा छापावाल सुन रु ७० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यसैगरी, तेजाबी सुनको मूल्य पनि प्रतितोला रु २०० ले घटेको छ। तेजाबी सुन रु ७० हजार ३ सयमा कारोबार भइरहेको छ। महासंघले बिहीबार तेजाबी सुनको मूल्य रु ७० हजार ५०० निर्धारण गरिएको थियो।

सुनको मूल्य घटेसँगै चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको छ। चाँदी तोलामा पाँच रूपैयाँले घटेर रु ८७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। बुधबार प्रतितोला रु ८८० मा कारोवार भएको चाँदीको मूल्य रु पाँचले घटेर रु ८७५ कारोबार भइरहेको थियो।

अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य ओरालो लागेको छ । विश्व बजारमा आज सुनको मूल्य प्रतिऔस एक हजार ५०२.४० अमेरिकी डलर रहेको छ। केहीअघि अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔस एक हजार ५४० डलरसम्म पुगेको थियो । विश्व बजारमा सुनको मूल्यमा देखिएको गिरावटसँगै नेपाली बजारमा पनि मूल्य घटेको महासंघले जनाएको छ ।

सुनको मूल्य

विशेष