असुरक्षाको घेरामा नेपाली बैंक
काठमाडौँ ।
घटना एक :
मिति : २०७६ भाद्र १४ गते चिनिया ह्याकरहरुले सिस्टममैँ ह्याक गरी नेपालका एटिएम बुथबाट एक करोड ८९ लाख निकाले । लगत्तै
राष्ट्रबैंकले बैंकका भुक्तानी विभागका निर्देशक बमबहादुर मिश्र संयोजकत्वमा एक समिति गठन गर्यो । समितिले गरेको अध्ययन प्रतिवेदनले चिनियाँ ह्याकरले नेपालका विभिन्न ठाउँका ६८ एटीएम ह्याक गरेर रकम निकालेको निष्कर्ष निकाल्यो ।प्रतिवेदन अनुसार १ करोड ८९ लाख ४४ हजार रुपैयाँ चोरी भएको देखियो । ५ जना चिनिया ह्याकरहरुले भदौ १४ गते बिहान ११ बजेदेखि साँझ ४ बजेसम्म विभिन्न ठाउँबाट ७ वटा बैंकका कार्ड प्रयोग गरी १७ बैंकका ६८ एटीएम ह्याक गरेका थिए ।
घटना दुई
नेपालका बैंकबाट पाँच अर्ब रुपैयाँ लुट्ने योजनासहित परिचालित १२ जनाको एक गिरोहले कृषि विकास बैंकका कर्मचारीका युजर आइडी प्रयोग गरेर ४ करोड ६३ लाख रुपैयाँ ट्रान्सफर गरेको सार्वजनिक भयो । ट्रान्सफर गरेको रकममध्ये ६० लाख रुपैयाँको नोट उनीहरुले निकालिसकेका थिए । पहिलो पटक असोज ५ गते आइतबार पानस रेमिटेन्सबाट एकै व्यक्तिले ६० लाख रुपैयाँ झिकेका थिए । उनलाई प्रहरीले पछ्याउँदा ३० लाख नगदसहित पक्रन सफल भएको थियो । प्रहरीले भारतमा बसेर काले भनिने पिटरको योजनामा काम भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ ।
पछिल्ला दिनमा बैंकिङ प्रणालीमा असर पर्ने गरी देखिएका यी केही प्रतिनिधिमुलक घटनामा मात्र हुन् । प्रविधि जति जति सहज बन्दै छ त्यति नै आपराधिक मनोवृत्ति पनि बढ्दै छ । घटना बढ्दै गएका छन् । सञ्चार प्रविधि विज्ञ इञ्जिनियर उत्तम कार्की भन्छन् –‘‘नेपालका बैंकहरु सुरक्षित छैनन् । आगामी दिनमा बैंकिङ प्रणालीमा यो भन्दा ठूला घटना हुने देखिएको छ ।’’
उनले साइबर, फ्रड, सिष्टम कोल्याप्स गरेरै ह्याकरहरुले बैंकिङ प्रणालीमा असर गरिरहेको जनाए । त्यसो त चिनियाहरुले गरेको ह्याकिङ नेपालमैँ पहिलो पटक भएको राष्ट्रबैंकले जनाएको छ । राष्ट्र बैंकका प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाले नेपाल आजसँग भने –‘‘चिनियाहरुले संगठनात्मक रुपमैँ ठगी गरे । साइबर अट्याक हो त्यो ।’’ ।
चिनिया ह्याकरहरुले नक्कली कार्ड प्रयोग गरी रकम झिकेका थिए । किनकी कुनै पनि बैंकको कार्ड एटिएम बुथमा छिराएपछि मेशिनले रिड गर्छ । एटिएम मेशिन भएकै बैंकको कार्ड रहेमा सिधै केन्द्रीय प्रणालीसँग जोडिन्छ । भुक्तानी स्वीकृत भएपछि मेशिनले पैसा दिन्छ । तर अर्को बैंकको एटिम नेटवर्क आबद्ध मेशिनमा लगेमा चार अंकको पिन हालेपछि बैंक आइडेन्टिफिकेसन नम्बर (बिन) भनिने चार अंकको नम्बरको आधारमा मेसिनले कुन बैंकको कार्ड हो भन्ने पहिचान गर्छ।
त्यसपछि आफ्नो एटीएम सर्भरमा विवरण पठाउँछ। सर्भरले भिसाको प्रणालीमा विवरण पठाउँछ। त्यसले फेरि बिनकै आधारमा त्यो कार्डको सर्भरमा विवरण पठाउँछ। भिसाले उक्त विवरण नेप्समा पठाउँछ। क्रेडिट कार्ड प्रयोग गरी ऋण मागिएको छ भने नेप्सले आफैं भुक्तानीका लागि स्वीकृति दिन्छ। निक्षेप झिक्न खोजिएको हो भने कार्ड जारी गर्ने बैंकको केन्द्रीय प्रणालीलाई सोध्छ। त्यसपछि बैंकको खाताबाट पैसा झिकेर व्यक्तिको खातामा रकमान्तर भएपछि एटीएम मेसिनले पैसा दिन्छ।
ह्याकरले पैसा झिक्दा नेप्सको प्रणालीसम्म सूचना नआएको दाबी निराैलाले दाबी गरे ।
कुन कुन बैंकको पैसा ह्याक
बुधबार भएको घटनामा कृषि विकास बैंकको रकम झिकिएको छ भने चिनिया ह्याकरहरुले विभिन्न ६ ओटा बैंकको सिष्टममा समस्या गराएका थिए । नबिल, नेपाल एसबीआई, नेपाल इन्भेस्टमेन्ट, सानिमा, कुमारी, सेन्चुरीलगायत बैंकको एटीएम बुथमा नक्कली कार्ड घोटेर ह्याकरले पैसा झिकेका थिए । प्रभुको कार्डबाट मात्रै १ करोड ३० लाख रुपैयाँ झिकिएको थियो । त्यस्तै एनआईसी एसिया, ग्लोबल आईएमई, माछापुच्छ«े बैंकको नक्कली कार्ड प्रयोग पैसा झिक्न प्रयोग गरिएको थियो ।
नेपालमात्रै असुरक्षित ?
सूचना प्रविधि विज्ञ कार्की भारतमा यस्ता घटना वर्षैभर भैरहने दाबी गर्छन । उनका अनुसार भारतमा सन् २०१५ यता करोडौँ ठगी भएका छन् । नेपालमा ठगीको शैली मात्र फेरिएको हो । जस्तो कि अघिल्ला वर्षहरुमा विदेशी एटिएम प्रयोग गरी नेपाली बैंकमा ठग्ने गरेको पाइएको थियो । २०७४ सालको कार्तिकमा लक्ष्मी पूजाको दिन पारेर एन आईशी एशिया बैंकको स्विफ्ट ह्याक गरी ४१ करोड बराबरको रकम विदेशमा पठाइएको थियो । जुन हालसम्मकै ठूलो घटना थियो ।
तथ्याङहरुले अन्य विभिन्न मुलुकमा बैंकिङ अपराधका घटनामा वृद्धि भएको देखाएको छ भने ह्याकरहरुले पनि फरक फरक शैली प्रयोग गरी पैसामा आँखा लगाउने गरेका छन् । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार २ करोड २१ लाख नेपालीसँग बैंक खाता छ। तर ह्याकरको निशानामा व्यक्तिका खाता परेमा बैंकिङ सिष्टममैँ गडबडी आई अर्थतन्त्रमा असर पर्ने देखिएको छ । यसका लागि सरोकारवाला निकायले ध्यान दिन जरुरी छ ।
चिनियाँ ह्याकर