नलसिंहगाड जलविद्युत योजना अघि बढाइने
जाइकाको सहयोग
काठमाडौँ । जाजरकोटको ४ सय १७ मेगावाटको नलसिंहगाड जलविद्युत परियोजना अघि बढाउने भएको छ । जापान भ्रमणमा रहेका ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन र जापानी विकास नियोग (जाइका) का कार्यकारी उपाध्यक्ष काजुहिको कोशिकावाबीच बिहीवार भएको भेटवार्तामा नलसिंहगाड परियोजना अघि बढाउने सहमति जुटेको हो ।
मन्त्री पुनले परियोजनालाई अघि बढाउने विषयमा बुधवार जापानका संसदीय, परराष्ट्र, उपमन्त्री नोरुहिरो नाकायामा, कृषि, वन तथा मत्स्यपालन राज्यमन्त्री योसिताका ईता र जापान संसदीय मैत्री समूहका अध्यक्ष तथा लिबरल डेमोक्राटिक पार्टीका महामन्त्री तोसिहिरो निकाइसँग छलफल गरेका थिए । भेटवार्तामा उर्जामन्त्रालयका सहसचिव तोया अधिकारी, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलगायतका उच्च अधिकारी सहभागी थिए ।
उर्जामन्त्री पुनले जाइकाले पिपिपि मोडेलमा उक्त आयोजना अघि बढाउने गरी प्रस्ताव गरेको जानकारी दिए । मन्त्री पुनले भने – ‘जाइकासँगको छलफल अत्यन्तै सकारात्मक भएको छ, डिपिआरको अध्ययनलगत्तै परियोजनालाई अघि बढाउने गरी पहल थाल्ने प्रतिवद्धता जनाएपछि चाँडै यसले मूर्त रुप पाउनेमा म आशावादी छु,’ ।
छलफलको क्रममा जाइकाका उपाध्यक्ष कोशिकावाले नेपालको उर्जा क्षेत्रमा थप लगानी गर्ने प्रतिवद्धता समेत जनाए ।
मन्त्री पुनले कुलेखानी जलाशययुक्त आयोजना र कन्काई सिंचाइ आयोजनामा जापानले गरेको सहयोगप्रति धन्यवाद दिए । कार्यक्रममा मन्त्री पुनले जापानी लगानीकर्तालाई नेपाली लगानीकर्तासरह सुविधा दिने घोषणा समेत गरे ।