अर्थ

आजदेखि बजारमा नयाँ नोट, यी हुन् नयाँ नोट साट्ने ठाउँ

आजदेखि बजारमा नयाँ नोट, यी हुन् नयाँ नोट साट्ने ठाउँ

काठमाडौं । दशैंको अवसरमा शुक्रबारदेखि बजारमा नयाँ नोट साट्न पाइने भएको छ । नेपाल राष्ट्र बैंकले दशैंमा साना दरका नयाँ सुकिलो नोटको माग उच्च हुने विगतको अनुभवका आधारमा विभिन्न बैंक तथा वित्तीय संस्थामार्फत सटहीको सुविधा दिन लागेको हो ।

केन्द्रीय बैंकले मुद्रा व्यवस्थापन विभाग, बालुवाटार र विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढी कार्यालयबाट नयाँ नोट उपलब्ध गराउने जनाएको छ ।

त्यसैगरी, राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक र कृषि विकास बैंकका काठमाडौं उपत्यकामा रहेका बिभिन्न शाखाबाट पनि नयाँ नोट साट्न पाइने भएको छ । बैंकले पाँच, दश, २०, ५० र १०० दरले प्रति व्यक्ति १८ हजार ५ सय रुपैयाँका दरले नयाँ सटही सुविधा उपलब्ध गराउने भएको हो ।

उपपत्यकामा नोट साट्न पाइने स्थान

नयाँ नो साट्नका लागि नेपाल बैंकका नयाँ सडक, कीर्तिपुर, महाराजगञ्ज, जोरपाटी, पाटन औद्योगिक क्षेत्र, लाजिम्पाट र भक्तपुर शाखामा व्यवस्था मिलाइएको छ भने राष्ट्रिय वाणिज्य बैंकका सिंहदरबार शाखा, टेकु, नयाँ बानेश्वर, सानोठिमि, विशालबजार, नक्साल, बालाजु, लुभु र टोखा शाखाबाट व्यवस्थापन गरिने भएको छ ।

त्यस्तै, कृषि विकास बैंकका गौशाला, गठ्ठाघर, रामशाहपथ, रत्नपार्क, थानकोट र पुल्चोक शाखाबाट नयाँ नोट दिने व्यवस्था मिलाइएको राष्ट्र बैंकले जनाएको छ ।

त्यस्तै, अन्य वाणिज्य बैंक, विकास बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयबाट पनि सीमित मात्रामा नयाँ नोट सटही सुविधा मिलाइएको छ । आफ्नो खाता भएको बैंक तथा वित्तीय संस्थाबाट पनि नोट सटही गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । केन्द्रीय बैंकले नोटमा केरमेट नगर्न अनुरोध गरेको छ ।

दशैं नयाँ नोट

विशेष