नयाँ वर्षमा पर्यटकलाई राहत, एक रुपैयाँमा बास
इलाम । नेपाल भ्रमण वर्षको प्रचार गर्न र यसलाई सफल बनाउन इलाममा सञ्चालित होटल एशोसिएसनले एक रूपैयाँमा पर्यटकलाई बास बसाएको छ। एशोसिएसनको सहकार्यमा जिल्ला सदरमुकाममा सञ्चालित पाँचवटा होटलले एक रूपैयाँमा पर्यटकलाई बास बसाएका हुन्।
सन् २०१९ को अन्तिम दिन १५ पुसमा होटल ‘बुक’ गर्न पुगेका पहिलो (सेवाग्राही) पर्यटकलाई एक रूपैयाँमा बास बसाउनुका साथै सोही रकममा दुई छाक खानाको व्यवस्था गरिएको हो। विदेशी पर्यटकले आफ्नो देशमा फर्किएपछि नेपाल भ्रमण वर्ष सन् २०२० को राम्रो प्रचार गरुन् भनेर यस्तो कार्यक्रम ल्याइएको होटल व्यवसायी संघ इलामका अध्यक्ष देवी पौडेलले बताए।
उनका अनुसार पहिलोपटक इलाम बजारमा जापानी पर्यटक युकिड मितामुरा एक रूपैयाँमा बास बसेका छन्। चियाबारी कटेजले मितामुरालाई एक रूपैयाँमा नै बास बसाउनुका साथै बेलुका र आज बिहानको खाना खुवाएको छ।
होटल व्यवसायी संघ इलामले भ्रमण वर्षलाई लक्षित गरी अघि सारेको योजनाअनुसार इलामको चियाबारी कटेजसहित ग्रिन भ्यू होटल, समिट होटल, हाम्रो पोख्रेली होटल र ग्रिनसिटी गेष्ट हाउसमा पाँचजना पर्यटकलाई भाग्यमानी पर्यटकको रूपमा लिँदै सो सुविधा प्रधान गरिएको थियो। उनीहरूलाई स्वागतसहित प्रमाणपत्र वितरण गरी इलामको पर्यटन सद्भावदूतका रुपमा घोषणासमेत गरिएको छ।
होटल व्यवसायी तथा चियाबारी कटेजका प्रोपाइटर थेवा तामाङले होटल व्यवसायीको नाताले विदेशी पर्यटकलाई आफूले स्वागत गर्न पाएकामा खुशी व्यक्त गरे। विदेशी पर्यटकले समेत आश्चर्यमा पर्दै इलामसहित नेपालको प्रचार गर्ने बताएका छन्।
भ्रमण वर्षलाई सफल बनाउन इलामबाट काठमाडौं चल्ने सुभेक्षा ट्राभल्सले आजदेखि सात दिनसम्म काठमाडौंबाट इलाम भित्रिने एकजना पर्यटकलाई निःशुल्क ल्याउने व्यवस्था गरेको छ।
नेपाल भ्रमण वर्ष शुरू भएको पहिलो दिन उद्घाटनसहित विभिन्न कार्यक्रम भएका छन्।
-रासस