जनसुरक्षित सहकारी आठौँ वर्षमा प्रवेश
काठमाडौँ । काठमाडौँको जडिबुटीस्थित जनसुरक्षित बचत तथा ऋण सहकारी संस्था आठौँ वर्षमा प्रवेश गरेको छ । आठौँ वर्ष प्रवेशको अवसरमा सहकारीले शनिबार राजधानीमा एक कार्यक्रम गरी संस्था विकासमा योगदान पुर्याउने तथा संस्थामा नियमित बचत गर्ने, नियमित किस्ता तिर्ने असल ऋणी लगायतलाई सम्मानित गर्यो ।
संस्थाका संस्थापक अध्यक्ष नवराज दहालसहित ८ जनालाई सम्मान गरेको हो । सम्मानित हुनेमा ज्येष्ट सदस्यमा चेतकुमारी कार्की, बाल बचतमा युवान आले मगर, महिलामा संगीता कार्की, दैनिक बचतकर्तामा निरोज अधिकारी, मासिक बचतमा बुद्धिमान दहाल, खुत्रुके बचतमा निमिष पौडेल र असल ऋणीमा सन्तोष ढलकोटी सम्मानित भए ।
त्यस्तै संस्थाको दुई कार्यकाल नेतृत्व गरी सबल बनाउनमा भूमिका खेलेको भन्दै संस्थापक अध्यक्ष नवराज दहाललाई पनि संस्थाले सम्मानित गर्यो ।
कार्यक्रममा सहकारी अभियन्ता तथा दोलखाको जनसचेतन साकोसका पूर्व अध्यक्ष यज्ञराज ढुंगेलले सहकारीले बोनस बाँड्न हतार गर्नेभन्दा संस्था मजबुत गराउनमा हतार गर्नुपर्ने बताउनुभयो ।
सरकारले सहकारी संस्था मर्जरबारे नीति ल्याएकाले र उक्त नीति विचाराधीन रहेकाले आगामी दिनमा एक गाउँपालिकामा एक सहकारी हुने सम्भावना रहेको जानकारी दिनुभयो । संस्थाले दुई चार वर्ष बोनस बाँड्नेभन्दा कोषहरु मजबुत बनाउने, जगेडा कोषसहित विभिन्न कोषमा रकम सुधार गर्दै अगाडि बढ्नुपर्ने उहाँको भनाइ छ ।
कार्यक्रममा अध्यक्षको प्रतिवेदन पेश गर्दै संस्थाका अध्यक्ष ऋषिराज दहालले संस्थाले आफ्नै भवन स्थापना गर्ने गरी अघि बढेको जानकारी दिनुभयो । आफ्नो कार्यकालमा गतवर्षभन्दा मुनाफा, जगेडा कोषमा उल्लेख्य सुधार भएको उहाँको भनाइ छ ।
उहाँले आगामी वर्ष शेयर सदस्य ३, ००० पुर्याउने लक्ष्य संस्थाले निर्धारण गरेको जानकारी दिनुभयो । साथै लगानीका क्षेत्र विस्तार गर्दै आगामी दिन संस्था मजबुत बनाउनेतिर लाग्ने जानकारी दिनुभयो । कार्यक्रममा संस्थाका सचिव नवराज दहालले सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष सुवास दहालले आर्थिक प्रतिवेदन पेश गर्नुभएको थियो ।
जडिबुटीमा कार्यालय रहेको सहकारी २०६९ सालमा स्थापना भएको हो । संस्थाको चुक्तापुँजी ४ करोड पुगेको छ भने हाल १३९२ जना शेयर सदस्य छन् ।