‘माहुरी म्यान’ लामिछानेको दुःखेसोः ‘महको गुणस्तर प्रमाणित गर्ने ल्याब छैन’
कास्कीः पोखरामा बेगनास माहुरी घार उद्योग सञ्चालन गरिरेका सूर्यप्रसाद लामिछानेलाई सबैले ‘माहुरी म्यान’ भनेर चिन्छन् । कास्की लामास्वाँरामा किसान परिवारमा जन्मिएका लामिछानेले दुई दशकदेखि मौरीपालन गर्दै आएका छन् । कडा मिहिनेतपछि एक सयवटा मौरी घार तयार पारेका लामिछानेले भने, ‘मैले यो व्यवसाय सुरु गर्दा मलाई कसैले पनि पत्याएका थिएनन् । माहुरीपालनलाई व्यवसायका रूपमा ढाल्न सकिएला भनेर । कास्कीमा माहुरीपालन व्यवसायमा रुचि राख्नेको सङ्ख्या धेरै छ ।’
मह शुद्ध हो वा होइन भन्ने प्रमाणित गर्न नपाउँदा विदेश निर्यात गर्न नपाएको नेपाल मौरीपालन महासङ्घ गण्डकी प्रदेशका अध्यक्षसमेत रहेका लामिछानेको भनाइ छ । विदेशीले बिनापरीक्षण वा प्रमाणीकरण नभएको कुनै चिज पनि प्रयोग नगर्ने हुँदा यहाँको मह बाहिर निर्यात गर्न नसकिएको उनको गुनासो छ ।
उनी भन्छन्, ‘ल्याबको अभावमा महको प्रमाणीकरण गर्न नपाउँदा मह विदेश पठाउन सकिएको छैन । स्वेदशमा बिक्री गर्न बाध्य छौँ ।’ महको नाउँमा केही डुलन्ते व्यक्तिले घरघरमा चिनीको चास्नी मिलाएर बेच्ने गरेकाले पनि महको गुणस्तरमा प्रश्न उठिरहेको उनको भनाइ छ । उनले कास्कीमा मात्रै सानाठूला गरी दुई सय मौरीपालक किसान र सात हजार पाँच सय आधुनिक मौरीका घार रहेको जानकारी दिए ।
पोखरा पर्यटकीय क्षेत्र भएकाले पनि महको माग दिन प्रतिदिन बढ्दो छ । माहुरीको अध्ययनका लागि भियतनाम, नेदरल्यान्ड, अमेरिका र जापानसम्म पुग्नुभएका लामिछानेले भने, ‘विदेशमा हेर्दा नेपालमा माहुरीपालन हुनसक्ने प्रशस्तै सम्भावना देखिन्छ तर माहुरीपालन व्यवसायलाई राज्यले हेर्ने दृष्टि सकारात्मक छैन ।’ उनले हाल एउटा माहुरीको घार र रानी माहुरीसहित १० हजार रुपैयाँमा बेच्ने गरेको बताए । हालसम्म पाँच हजार गोला मौरी बेचिसकेका लामिछानेले माहुरीपालनबाट लाखौँ रुपैयाँ कमाइसकेका छन् ।
नेपालमा पेसाको पुस्तान्तरण हुँदा कृषि पेसाको विकास हुन नसकेको उनले बताए । उनले भने, ‘नेपालमा बाबुले किसानी पेसा गर्छ, छोरालाई अर्कै पेसामा लगाउन त्यही अनुसारको विषय पढाउने चलन छ । अनि पेसामा व्यावसायिकता र पुस्तौँ विज्ञता हुँदैन तर विदेशमा बाबुले अँगालेको पेसामा नाति पुस्तासम्म लागिरहेका भेटिन्छन् । अनि त्यहाँ हरेक पेसाको विकास भएको छ र हरेक पेसाको मर्यादा छ ।’
उनले एक घारबाट एकपटकमा चार केजी महसम्म उत्पादन गर्ने गरेको बताए । उनका अनुसार सुदूरपश्चिमको डोटी, डडेल्धुरा, रुकुम रोल्पातिरका माहुरीले बढी मह दिने भएकाले ती मौरी ल्याएर नश्ल सुधार गरी उत्पादन वृद्धि गर्ने र समग्र मौरीपालक कृषकको आयआर्जन बढाउने योजना पनि उनले निर्माण गरेका छन् ।
महको प्रयोग नेपाली समाजले गर्न नसकेको प्रति पनि उनको गुनासो छ । उनी भन्छन्, ‘विदेशमा हरेक भान्सामा महको प्रयोग हुन्छ, हामी दाल, भात, तरकारी माछा, मासुलाई प्राथमिकता दिन्छौँ, महलाई कसरी खाने भन्ने ज्ञान पनि हामीसंँग छैन । यसको प्रयोग हरेक भान्सामा बढाउन जरुरी छ ।’ यो खबर आजको गोरखापत्र दैनिकबाट लिइएको हो ।
माहुरी माहुरी म्यान सूर्यप्रसाद लामिछाने ल्याब