अर्थ

घट्यो हवाई भाडा

घट्यो हवाई भाडा

काठमाडौं । नेपाल सरकारको अनुरोधपछि नेपाली वायुसेवा कम्पनीहरूले आन्तरिक ट्रंक रूटको अधिकतम सीमाको हवाई भाडादर ४० प्रतिशतसम्मले घटाएका छन् । आइतवार बिहान सम्पन्न वायुसेवा सञ्चालक संघको बैठकको निर्णयअनुसार कम्पनीहरूले अधिकतम सीमाको भाडादर घटाएका हुन् । 

आइतवारसम्म बुद्ध एयर, श्री एयरलाइन्स र यती एयरलाइन्सले हवाई भाडाको अधिकतम सीमा घटाएका छन् । बुद्ध एयर र यती एयरलाइन्सले आइतवार सूचना जारी गर्दै काठमाडौंदेखि पोखरा, विराटनगरलगायत गन्तव्यको अधिकतम भाडादर घटाएको जानकारी दिएका छन् । 

श्री एयरलाइन्सले भने शनिवार नै सूचना जारी गर्दै भाडादर घटाएको हो । कोरोना भाइरसले उब्जाएको विषम परिस्थितिलाई दृष्टिगत गर्दै हवाई भाडा घटाइएको उनीहरूको भनाइ छ ।

कोरोना भाइरसको बढ्दो प्रकोपलाई लक्षित गर्दै सरकारले चैत १० गतेदेखि लामो दूरीका सार्वजनिक सवारी यातायातमा रोक लगाएको छ । सार्वजनिक यातायात रोकिएपछि घर फर्कने एक मात्र माध्यम नै हवाई यात्रा भएको छ । वायुसेवा कम्पनीहरूले सोही अवस्थालाई दृष्टिगत गर्दै सार्वजनिक यातायात बन्द हुने अवधि अर्थात् चैत २१ गतेसम्मका लागि भडामा छूट दिने भएका हुन् । यो समाचार आजको आर्थिक अभियान दैनिकमा प्रकाशित छ।  

हवाई भाडा घट्यो

विशेष