लकडाउनसंगै तरकारीको मूल्यले ढाड सेक्दै
कोरोना भाइरसका कारण सरकारले देश ‘लकडाउन’ गरेपछि तरकारी र फलफूल आपूर्ति ठप्प छ । जसकारण बजारमा तरकारी र फलफूल अभाव देखिन थालेको फलफूल तथा तरकारी व्यवसायीले बताएका छन् ।
काउली, आलु, टमाटर (गोलभेडा), हरियो साग, चुच्चे करेला, तिते करेला, घिरौला, हरियो काँक्रो लगायत उच्च माग हुने गरेको कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ । यस्ता तरकारी आयात नै रोकिएपछि तरकारको अभाव हुन थालेको फलफूल तथा तरकारी व्यवसायी महासंघका अध्यक्ष खोमप्रसाद घिमिरेले जानकारी दिएका छन् ।
बिहीबार २ सय ५० टन र शुक्रबार ३ सय ५० टनभन्दा केही बढी तरकारी आयात भएको अध्यक्ष घिमिरेले बताए । भारतमा सामान्य अवस्थामा ४ सय टनसम्म तरकारी आयात हुने गरेकामा अहिले दैनिक १ सय टन मात्र आयात भइरहेको उनको भनाइ छ ।
कालिमाटी बजारमा ९५ रुपैयाँमा कारोबार भएको गोलभेँडा उपभोक्ताले १ सय ३० रुपैयाँ हालेर किन्नु परिरहेको छ । यस्तै, कालिमाटीमा ६५ मा पाइने प्याज बजारमा ९० रुपँयौ पुगेको छ । कालिमाटी बजारमा तरकारी किन्ने उपभोक्ताको भिड बढ्न थालेपछि व्यवसायी चिन्तित छन् । कालिमाटी बजार बिहान २ बजे खुलेर ६ बजे बन्द हुने गरेको छ ।