नेपाली सेनाले चीनबाट ल्यायो १४ टन स्वास्थ्य सामग्री
काठमाडौं । नेपाली सेनाले नेपाल एयरलाइन्सको जहाजमार्फत चीनबाट १४ टन स्वास्थ्य सामाग्री ल्याएको छ । नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेका अनुसार सेनाले दोस्रो पटक हवाई मार्गबाट १४ टन स्वास्थ्य सामाग्री ल्याएको हो । यसअघि ६ जेठमा सेनाले १८.९ टन स्वास्थ्य सामग्री पहिलो चरणमा हवाई मार्गबाट ल्याएको थियो ।
प्रवक्ता पाण्डेका अनुसार, २८ हजार पीसीआर किट, पीपीईलगायतका स्वास्थ्य सामग्री ल्याइएको छ । सेनाको स्वास्थ्य सामग्री लिन जहाज बुधबार नै चीनको ग्वान्झाओ गएको थियो ।
नेपाली सेनाले बुधबारको पत्रकार सम्मेलनमा २८ टन स्वास्थ्य सामग्री दोस्रो लटमा ल्याउने बताए पनि १४ टन मात्रै सामग्री आएको छ । ३० वटा पोर्टेबल एक्सरे मेसिन रहेकाले अहिले हवाईमार्गबाट भने जति सामान ल्याउन नसकिएको सैनिक प्रवक्ता पाण्डेले बताए ।
उनका अनुसार, बाँकी सामग्री अब स्थलमार्गबाट तातोपानी भन्सार नाका हुँदै नेपाल ल्याईने छ । यस अघि सेनाको कन्टेनरले स्थलमार्गबाट पहिले ९ टन स्वास्थ्य सामग्री काठमाडौं ल्याएको थियो ।