अन्तर्राष्ट्रिय मुद्रा कोषद्वारा नेपाललाई २६ अर्ब रुपैयाँ सहयोग
काठमाडौं - अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले नेपाललाई करिब २६ अर्ब रूपैयाँ (२१ करोड ४० लाख अमेरिकी डलर) दिने भएको छ।
२४ वैशाखमा बसेको आईएमएफको कार्यकारी बोर्ड बैठकले नेपाललाई कोभिड-१९ महामारीले प्रभाव पारेको क्षेत्रमा खर्च गर्न उक्त रकम उपलब्ध गराउने निर्णय गरेको हो।
उक्त रकमले नेपालको भुक्तानी सन्तुलनमा सहयोग गर्ने अपेक्षा अन्तर्राष्ट्रिय मुद्रा कोषको छ । नेपाल सरकारले स्वास्थ्य खर्च बढाउन, वित्तीय प्रणालीमा पर्याप्त तरलता सुनिश्चित गर्न, ऋणको पहुँचमा सहज बनाउनका लागि अन्तर्राष्ट्रिय सहयोगी निकायहरूसँग आर्थिक सहायता माग गरिरहेको छ।