जेठ २५ सम्म कर तिरिसक्न सरकारको ताकेता
काठमाडौं । सरकारले लकडाउनकै बीचमा उद्योगी तथा व्यवसायीलाई तोकिएको समयभित्र आर्थिक वर्षको तेस्रो त्रैमासिकको कर भुक्तानी गर्न ताकेता गर्न थालेको छ । सरकारले सार्वजनिक सूचना नै निकालेर पछिल्लो पटक कर तिर्न बढाइएको म्यादभित्र कर तिर्न दबाव बढाएको छ ।
लकडाउन भएपछि सरकारले चैत र वैशाख महिनामा अधिकांश करको भुक्तानी गर्ने समयावधि २५ जेठसम्मका लागि बढाएको थियो । १४ वैशाखको मन्त्रिपरिषद बैठकले वैशाख २५सम्मको कर तिर्ने समय एक महिना थप्ने निर्णय गरेको थियो ।
तर, पछिल्लोपटक लकडाउन लम्बाउँदै जेठ ३१ गतेसम्म विस्तार गर्ने निर्णय लिएको सरकारले जेठ २५ पछिको कर भुक्तानीको लागि दिइएको म्याद थपेको छैन । बरु आन्तरिक राजस्व विभागले जेठ २५ गतेभित्र कर बुझाएर शुल्क, थप दस्तुर, ब्याज र जविरवाना बच्न आग्रह गर्दै सार्वजनिक सूचना निकालको छ ।
लकडाउन लम्बिएपछि करदाता बैंक वा कर कार्यालयसम्म पुग्न पाएका छैनन् । यसअवधिमा आर्थिक गतिविधि समेत ठप्प प्रायः छन् । यस्तो अवस्थामा कर तिर्न थप समय दिनुपर्ने माग उद्योगी तथा व्यवसायीको छ ।