शाइन रेसुंगा डेभलपमेन्ट बैंकले असार २२ गते बोलायो वार्षिक साधारणसभा, के-के छन् एजेन्डा ?
काठमाडौँ । शाइन रेसुंगा डेभलपमेन्ट बैंकले ११ औँ वार्षिक साधारणसभा असार २२ गते बोलाएको छ । बैंकको बिहीबार बसेको सञ्चालक समितिको बैठकले उक्त मिति तय गरेको हो । बैंकको साधारण सभा रुपन्देहीको बुटवलस्थित एसियन भिलेज रिसोर्ट प्रालिमा आयोजना हुने भएको छ।
सभामा साविकको पूर्णिमा विकास बैंक र भार्गव विकास बैंकलाई प्राप्तिपश्चात कायम आर्थिक वर्ष २०७५/७६ सम्मको कुल सञ्चित मुनाफाबाट चुक्तापुँजीको १५ प्रतिशतले हुन आउने ३९ करोड ३४ लाख ३५ हजार ६१८.५९ रुपैयाँबराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित हुनेछ।
यसैगरी सभामा साविकको पूर्णिमा विकास बैंक र भार्गव विकास बैंकलाई प्राप्ति गर्नुपूर्वको सेयर संरचना परिवर्तन गरी संस्थापक समूहको ५७.२२ प्रतिशत र सर्वसाधारण समूहको ४२.७८ प्रतिशत कायम गर्ने प्रस्ताव पनि अनुमोदन हुनेछ। सोहीबमोजिम सेयर स्वामित्व संरचना पनि परिवर्तन गरी प्रबन्धपत्र संशोधन गर्ने प्रस्ताव सभाले पारित गर्नेछ। सभाले जारी तथा चुक्ता पुँजी वृद्धि गर्ने र सोहीबमोजिम प्रबन्धपत्र संशोधन गर्ने प्रस्ताव पनि अनुमोदन गर्नेछ।