अपराध सुरक्षा

वझाङको खिकालाकी १२ वर्षीया वालिकाको बलात्कारपछि हत्या भएको पुष्टि

वझाङको खिकालाकी १२ वर्षीया वालिकाको बलात्कारपछि हत्या भएको पुष्टि

गत वुधवार मन्दिरभित्र मृत अवस्थामा फेला परेकी मष्टा गाउँपालिका–२ खिकाला गाउँकी १२ वर्षीया सम्झना विकको बलात्कारपछि हत्या भएको पुष्टि भएको छ । जिल्ला अस्पताल बझाङले शनिवार प्रहरीलाई वुझाएको पोस्टमार्टम रिपोर्टमा उनको वलात्कारपछि हत्या भएका प्रमाणहरु छन् ।

रिपोर्ट अनुसार वालिकाका यौनाङ्ग तथा शरिरका विभिन्न भागमा चोट देखिएको छ । यौनांगको भित्र र बाहिर पनि चोट देखिएकाले वलात्कार भएकै पुष्टि हुने प्रहरीले जनाएको छ । वलात्कारका क्रममा कुटपिट पनि भएको वा वालिकाले प्रतिकार गर्न खोजेको रिपोर्टका आधारमा प्रहरीले अनुमान लगाएको छ । उनको टाउको, अनुहार, पिठिउँलगायत विभिन्न ठाउँमा चोटपटक देखिएको रिपोर्टमा उल्लेख छ ।

वालिकाको मृत्यु भने कलेजोको चोटका कारण भएको रिपोर्टमा उल्लेख गरिएको छ । कलेजोको दुई ठाउँमा च्यातिएका ठुलठुला चोट रिपोर्टले देखाएको छ । पीडकले वालिकालाई कुटपिट गर्दा कलेजोमा चोट लागेको हुनसक्ने प्रहरीको अनुमान छ ।

पीडित परिवारले अझै पनि वालिकाको शव वुझन मानेका छैनन् । हत्याराको पत्ता लगाई कारवाही गर्न उनीहरुले माग गरेका छन् ।

घट्नाको थप अनुसन्धानका लागि शनिवार पनि प्रहरीले घट्नास्थको निरिक्षण गरेको थियो । जिल्ला प्रहरी प्रमुख डीएसपी रूपक खड्का, प्रहरी निरीक्षक लोकेन्द्रसिंह कार्की र निमित्त जिल्ला न्यायाधिवक्ता सन्तोषकुमार कटुवालसहितको टोली दोहोर्याएर खिकाला पुगको थियो ।

घटना भएको खबर आएलगत्तै बुधबारको राति नै खिकाला पुगेको प्रहरीको टोलीले बालिका घरबाट निस्कँदा बोकेको डोको, नाम्लो र हँसिया कसैले नछुनू भन्दै घटनास्थलमै छाडेर आएको थियो ।

हत्यारा लुकाउन सक्ने सम्भावना भएको भन्दै निष्पक्ष छानबिनका लागि परिवार र आफन्तले निरन्तर खबरदारी गर्दै आएका छन् । 

जिल्ला प्रहरी प्रमुख डीएसपी रूपक खड्काले आफ्ना सबै संयन्त्र परिचालन गरेर अनुसन्धानमा खटिएकाले अपराधीलाई कारबाही हुने कुरामा कुनै शंका नगर्न आग्रह गरेपनि आफन्तले भने विस्वास गर्न सकेका छैन् ।

बुधबार दिउँसो करिब १२ बजे परिवारका तीन बहिनी र हजुरआमासँगै खाना खाएर सम्झना घरभन्दा आधा घण्टा टाढा रहेको गोठमा गएकी थिइन्। तर, उनी फर्केर आईनन् । 

खोजतलास गर्दा सम्झनाको शव सिम देवताको मन्दिर भित्र फेला परेको थियो भने उनले घरबाट बोकेर गएको डोको नाम्लो र हँसिया सिम देवताको मन्दिर नजिक भेटिएको थियो। सम्झनाले कानमा लगाएको पाँच आना सुनका गहनासमेत लुटिएको प्रहरीले जनाएको छ। प्रहरीले घटनामा संलग्न रहेको आशंकामा स्थानीय राजेन्द्र बोहरालाई नियन्त्रणमा लिएको छ। 

पोष्ट मार्टम रिपोर्ट तथा प्राप्त थप प्रमाणका आधारमा पक्राउ परेका ब्यक्तिले नै घटना गराएको पुष्टि हुदै गएको इन्स्पेक्टर लोकेन्द्रसिंह कार्कीले वताए । तर उनले अपराध स्वीकार गरिसकेका छैनन् ।

मष्टा गाउँपालिका–२ खिकाला गाउँमाकी १२ वर्षीया सम्झना विक गाउँकै मष्टा आधारभुत विद्यालयमा ६ कक्षामा पढ्दै थिइन्। उनका आमाबुबा ४ वर्षअघि नै रोजगारीका क्रममा भारतमा छन् ।
 

विशेष