वर्दीमै तास खेल्न भिडेका १४ प्रहरीलाई कारवाही
वर्दीमै तास खेल्न वसेका सर्लाहीको बरथहवा स्थित इलाका प्रहरी कार्यालयका प्रहरी कर्मचारीलाई कारबाही गरिएको छ ।
प्रहरी आचारण विपरित काम गरेको आरोपमा १४ प्रहरी कर्मचारीलाई कारबाही गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका डिएसपी मदन कुँवरले जानकारी दिए ।
प्रहरी बर्दी लगाएर तास खेलिरहेको भिडियो सार्वजनिक भएपछि प्रहरीले सो विषयमा छानबिन अघि बढाएको थियो । छानबिनपछि ६ प्रहरी जवान, दुई प्रहरी हवल्दार र दुई प्रहरी सहायक निरीक्षकलाई कारबाही गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
प्रहरी नियमावली, २०७१ (संशोधनसहित) को परिच्छेद १० को नियम ११२ को देहाय (क), (घ) र (च) को कसुरमा ऐन नियमावलीको नियम ११९ को उपनियम १ को (२) ले दिएको अधिकारको प्रयोग गरी सोही नियमावलीको नियम १०९ को खण्ड (क) (७) बमोजिम उनीहरुलाई कारवाही गरिएको हो।
भिडियो खिच्ने र मिडियासम्म पु¥याउने पाँच जनालाई हालको पदको ज्येष्ठतासहित खाइपाइ आएको सुरु स्केलमा घटुवा गर्ने, तास खेल्ने पाँच जनालाई नसिहत र तास खेलेको हेर्ने दुई जनालाई सख्त चेतावनी दिइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका एसपी सन्तोषसिंह राठौरले बताए। अनुसन्धानका क्रममा भिडियो एक वर्ष पहिला नै खिचेको पाइएको पनि उनले बताए ।
तास खेल्ने, भिडियो बनाउने र भिडियो मिडियासम्म पु¥याउने प्रहरी सहायक निरीक्षक, प्रहरी हवल्दार र प्रहरी जवानलाई इलाका प्रहरी कार्यालय बरथहवामै झिकाएर कारबाही गरिएको इलाका प्रहरी कार्यालय बरथहवाका डिएसपी उद्धवसिंह भाटले बताए ।
कारबाही पर्नेमा प्रहरी जवान मोहन थापा, अर्जुनकुमार सिंह, राजकिशोर भण्डारी, गीता चौधरी र सन्तोषकुमार यादवको खाइपाइ आएको सुरुको तलबमा घटुवा गरिएको छ । त्यसैगरी प्रहरी सहायक निरीक्षक प्रमोदप्रसाद यादव र राजकुमार साहका साथै प्रहरी हवल्दार महेशप्रसाद यादव, रामबाबु साह र प्रहरी जवान जीतनारायण रायलाई पहिलोपटक नसिहत दिइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । अरु दुई प्रहरी जवान सञ्जयकुमार साह र तिलबहादुर मगरलाई सख्त चेतावनी दिइएको सर्लाही प्रहरीले जनाएको छ ।