कोलमतेश्वरमा नेपालकै पहिलो लक्ष्मी ह्यग्रीव मन्दिर
पूर्णप्रसाद मिश्र, काठमाडौँ
कागेश्वरी मनोहरा नगरपालिका–४ कोलमतेश्वरमा नेपालकै पहिलो लक्ष्मी ह्यग्रीव मन्दिर निर्माण भएको छ । रङरोगन र बत्ती हाल्ने काम भइरहेको मन्दिर क्षेत्र प्राचीनकालदेखि नै कोलमतेश्वर महादेवका नामले प्रसिद्ध थियो । घाँटीभन्दा माथिको भाग घोडा र घाँटीमुनिको भाग मान्छेको जस्तो भएकालाई ह्यग्रीव भनिन्छ । ह्यग्रीव भगवान् विष्णुका २४ अवतारमध्येको एक हो । ह्यग्रीव अवतार लिएर भगवान् विष्णुले वेदको रक्षा गर्नुभएको थियो । वेद रक्षा गरेर भगवान् विष्णुले ब्रह्मालाई दिनुभएको वर्णन विभिन्न वैदिक ग्रन्थमा गरिएको छ ।
ब्रह्माबाट मधुकैटभ दैत्यले वेद हरण गरी लगेपछि भगवान् विष्णुले ह्यग्रीव रूपधारण गरी उद्धार गरेर ब्रह्मालाई फिर्ता गर्नुभएको विषय विभिन्न धार्मिक ग्रन्थमा वर्णन गरिएको । ह्यग्रीव रूपधारण गरेर भगवान् विष्णुले वेदको उद्धार गर्नुभएको सन्दर्भ श्रीमद्भागवतको द्वितीय स्कन्ध सात अध्यायको ११औँ श्लोकमा वर्णन गरिएको छ । महाभारतको शान्ति पर्वमा पनि यस विषयमा चर्चा गरिएको लक्ष्मी ह्यग्रीव मन्दिरका संस्थापक रुरु पीठाधीश स्वामी जगदीश प्रपन्नाचार्यले राससलाई जानकारी दिनुभयो । भगवान् विष्णुले ह्यग्रीव अवतार लिनुको अर्को कारण श्रीमद्देवी भागवतमा पनि वर्णन गरिएको छ । ह्यग्रीव नाम गरेका एक दैत्यले मेरै नाम गरेकाले मात्र मलाई मार्न सकून् भनी वर मागेकाले भगवान् विष्णुले ह्यग्रीव रूपधारण गर्नुभएको हो । भगवान् ह्यग्रीवको नेपालमा अन्यत्र मन्दिर नभएकाले यहाँ निर्माण गरिएको हो । भगवान् विष्णुले ह्यग्रीव अवतार लिनुभएको सन्दर्भसँग कोलमतेश्वर क्षेत्रको सम्बन्ध रहेको स्वामी जगदीश प्रपन्नाचार्य बताउनुहुन्छ । स्कन्द पुराणअन्तर्गतको हिमवत्खण्ड (नेपालमाहात्म्य) वाग्मती नदीको तीर वर्णन क्रममा १२८ नं अध्यायमा कोलमती तीर्थ र कोलमतीघाटका बारेमा वर्णन गरिएको छ । “कोलमतीघाटमा भाद्रकृष्ण पञ्चमीमा स्नान र दर्शन गरेमा करोडौँ गोदान गरेबराबरको फल मिल्ने वर्णन धार्मिक ग्रन्थमा गरिएको छ, कोललाई बराह भनिने भएकाले श्वेतबाराहीबाट बगेर आएको नदीलाई कोलमती भनिएको हो”, उहाँले भन्नुभयो । कोलमती वाग्मतीमा मिसिने घाटलाई कोलमतीघाट भनिन्छ ।
कोलमती र वाग्मती मिसिने स्थानमा चैलमतीसमेत मिसिएर त्रिवेणीघाट बनेकाले यो स्थलको महत्व पौराणिक एवं शास्त्रीय ग्रन्थमा वर्णन गरिएको छ । वामन अवतार लिनुभएका भगवान् विष्णुलाई सृष्टिकर्ता ब्रह्माले जल चढाउँदा कपडामा परेर खसेकाले चैलमती नाम रहेको वर्णन ती ग्रन्थमा गरिएको स्वामी जगदीश प्रपन्नाचार्य बताउनुहुन्छ । चैलमतीलाई हाल शब्द अपभ्रंश भई चौलमती पनि भनिन्छ । यहाँ ब्रह्माले वामनरुपी भगवान् विष्णुलाई जल चढाउँदा खसेको शिलालाई अहिले पनि चौलनारायणका रूपमा पूजा आराधना गरिन्छ । नेपाल माहात्म्यको ३२औँ अध्यायमा सुन्दराचल क्षेत्रको वर्णन छ । त्यो क्षेत्र हालको सुन्दरीजल हो भन्ने स्वामी जगदीशको विश्वास छ । सुन्दरीजलको तल्लो भागमा पर्ने यो स्थल सुन्दराचलकै आधुनिक रूप हो । नेपाल माहात्म्यको ३२औँ अध्यायको २८, २९ र ३०औँ श्लोकमा सुन्दराचल क्षेत्रमै भगवान् ह्यग्रीव बस्नुहुन्छ भनी वर्णन गरिएकाले यहाँ नेपालकै पहिलो लक्ष्मी ह्यग्रीव मन्दिर निर्माण गरिएको हो । कोलमती, चैलमती र वाग्मती गरी तीन नदी मिसिएर त्रिवेणी सङ्गम बनेको कोलमतीघाटमा सत्ययुगमा भगवान् विष्णुसमेत आएर स्नान गर्नुभएको प्रसङ्ग पनि विभिन्न धार्मिक ग्रन्थमा वर्णन गरिएको छ । धार्मिक महत्व भए पनि गोकर्णेश्वर उत्तरवाहिनी क्षेत्र नजिकै रहेकाले कोलमतेश्वर क्षेत्र लामो समयदेखि ओझेलमा परेको थियो । यहाँको प्राचीन महत्व थाहा पाएपछि स्थानीयवासी मन्दिर निर्माणमा जुटेका हुन् । यस क्षेत्रलाई धार्मिक पर्यटकीयस्थलका रूपमा विकास गर्न स्थानीयवासी जुटेका छन् ।
मन्दिर निर्माणका लागि हालसम्म रु एक करोड खर्च भइसकेको निर्माण समितिका अध्यक्ष ध्रुवप्रसाद सिम्खडा बताउनुहुन्छ । मन्दिर निर्माणका लागि कागेश्वरी मनोहरा नगरपालिकाले रु २७ लाख, वाग्मती प्रदेश सरकारबाट रु १० लाख, मन्दिर निर्माणका लागि लगाइएको सप्ताहबाट रु सात लाख र गोकर्णेश्वर नगरपालिकाले रु पाँच लाख सहयोग गरेका छन् । अरु सहयोग भक्तजनबाट उठेको उहाँ बताउनुहुन्छ । मन्दिर क्षेत्रमा ढुङ्गा छाप्नेलगायत कामका लागि थप सहयोग आवश्यक भएकाले कागेश्वरी मनोहरा नगरपालिकासँग कुराकानी भइरहेको अध्यक्ष सिम्खडा बताउनुहुन्छ । वाग्मती किनारको गोकर्ण राज निकुञ्ज क्षेत्रसँग जोडिएको आकर्षक स्थलमा रहेको १७ रोपनी क्षेत्रफलमा फैलिएको यस स्थलमा सिम्खडाहरुको इष्टदेवीका रूपमा पुजिँदै आउनुभएकी चिनादेवी, सप्तऋषि, कोलमतेश्वर महादेव मन्दिरलगायत मन्दिर पनि यसअघि बनिसकेको छ । मन्दिर क्षेत्रलाई रङरोगन गरी आगामी वैशाख, जेठमै प्राण प्रतिष्ठासहित शुभारम्भ गर्ने तयारी भइरहेको जनाइएको छ । स्वामी जगदीश प्रपन्नाचार्यको नेतृत्वमा हाल यहाँ गुरुकुलसमेत शुरु गरिएको छ । गुरुकुलमा हाल पाँच विद्यार्थी अध्ययनरत छन् । गुरुकुललाई विस्तार गर्न लागिएको छ ।रासस