अर्थ

उद्यमशीलताको उदाहरण: पढाइसँगै च्याउखेतीमा देवश्वरीका विद्यार्थी

उद्यमशीलताको उदाहरण: पढाइसँगै च्याउखेतीमा  देवश्वरीका विद्यार्थी

बित्थडचिर गाउँपालिका–४ देउलेखस्थित देवश्वरी माध्यमिक विद्यालयमा कृषि बाली विज्ञान अध्ययनरत विद्यार्थीले च्याउखेती शुरु गरेका छन् ।

विद्यार्थीले सैद्धान्तिक ज्ञानसँगै व्यवहारिक ज्ञान हासिल गर्न च्याउखेती शुरु गरेका हुन् ।

विद्यार्थीलाई अध्ययनसँगै व्यवहारिक ज्ञान दिन च्याउखेती शुरु गरेको प्रशिक्षक नरेश विष्टले बताउनुभयो । स्रोत साधनको अभावका बाबजुद पनि आफूहरु विद्यार्थीलाई सीप सिकाउन लागिपरेको उहाँले सुनाउनुभयो ।

अध्ययनरत विद्यार्थीलाई च्याउखेती मात्रै नभएर तरकारी खेती, फलफूल खेती, नगदे बालीलगायतका विषयमा व्यवहारिकसहित अध्ययन गराइँदै आएको उहाँले बताउनुभयो । यस्तै कृषि कार्यक्रम संयोजक दिनेश बोहराले च्याउ उत्पादनले राम्रो बजार पाउने र अध्ययनपछि विद्यार्थी स्वरोजगार बन्न ठूलो सहयोग पुग्ने बताउनुभयो ।

बजार पाएमा च्याउखेतीबाट मनग्य आम्दानी हुने उहाँको भनाइ छ । विद्यार्थीले च्याउखेतीका लागि टनेल तयार गरी पहिलोपटक १५० पोकामा बीउ राखेका छन् । देवेश्वरी माविमा प्राविधिक शिक्षातर्फ १८ महिने कृषि जेटिए पठनपाठन हुने गरेको छ । झण्डै ३५ विद्यार्थी अध्ययन गरिरहेका छन् ।

अध्ययनरत विद्यार्थीले व्यवहारिक ज्ञान हासिल गर्न विद्यालयबाट सहयोग पाएको बताएका छन् । (रासस) 

रासस

विशेष