देशको दृष्य
देशभरीको अवस्था देखाउन हरेक दिन प्रस्तुत गरिने ‘देशको दृष्य’ मा आज (शनिवार) देशभर खिचिएका मध्ये केहि तस्वीर प्रस्तुत गरिएको छ । तस्वीर–रासस
माछा मार्दै थारु महिला– बर्दियाको बाँसगढी नगरपालिका ५ स्थित माछा मार्दै थारु महिला । यहाँका स्थानीय महिलाहरु फुर्सदको समयमा माछा मार्ने गर्दछन् ।
अनौपचारिक छलफल– नेपाल कम्युनिष्ट पार्टी (एमाले) को संसदीय दलको बैठकपछि प्रधानमन्त्री केपी शर्मा ओली अनौपचारिक छलफलमा ।
सडक नाटक– दोलखाको सदरमुकाम चरीकोटमा लागुऔषध विरुद्धको सचेतनामुक सडक नाटक तथा म्यूजिकल थेरापी प्रर्दशन गर्दै प्रहरीको टोली ।
सुत्केरी विनितालाई सहयोग– काठमाडौँ काँडाघारीमा बस्ने ओखलढुङ्गाकी डेढ महिने सुत्केरी विनिता भूजेललाई शनिबार खाद्यान्न र आर्थिक सहयोग हस्तान्तरण गर्ने क्रममा काठमाडौँ निवासी तनहुँका सन्दिप बस्नेत । जर्मनीमा बस्ने धादिङकी आशिका तामाङले आशिका फाउन्ण्डेसनमार्फत उपलब्ध गराएको नगद रु १० हजार र अत्यावश्यक खाद्यान्न गरी रु १४ हजार बढीको सहयोग उहाँले हस्तान्तरण गर्नु भएको छ । गोल्छा अर्गानाइजेसन अन्तरगतको हुलास पावरका महाप्रबन्धक प्रितमकुमार काफ्लेले पनि उहाँलाई आज रु १० हजार सहयोग गर्नुभयो । २१ दिनको सुत्केरीलाई छाडेर श्रीमान देवकुमार सम्पर्क विहिन छन् ।
बारी जोत्दै एक वृद्ध– तनहुँको शुक्लागण्डकी नगरपालिका–१२ किसिदीमा बारी जोत्दै एक वृद्ध । पछिल्लो समय रोजगारीका लागि युवा विदेशिएपछि गाउँघरका खेतबारी जोत्ने काममा वृद्धहरु लाग्नुपर्ने बाध्यता छ ।
फेवाताल सफा गरिँदै– पोखरा वृहत सफाइ अभियान २०३ औँ श्रृङ्खलाअन्तर्गत पोखरा महानगरपालिका–१७ ड्याम साइडस्थित फेवाताल वरपर क्षेत्रका फोहोर व्यवस्थापन गर्दै सुरक्षाकर्मीलगायत ।
वन क्षेत्रमा डढेलो लाग्न नदिन फायर लाइनमा रहेका पात जलाउँदै उपभोक्ता– शुक्लाफाँटा नगरपालिका–८ स्थित बैजनाथ सामुदायिक वनका उपभोक्ता वन क्षेत्रमा डढेलो लाग्न नदिन फायर लाइन (अग्नी नियन्त्रण रेखा)मा रहेका पातहरु जलाउँदै ।
आन्तरिक पर्यटक– पोखराको फेवातालमा आन्तरिक पर्यटकको भीड ।
पूजा गर्दै नेदरल्यान्डका विदेशी नागरिक– पोखराको बाराही घाटमा दैनिक हुने आरतीको कर्ता बनेर फेवाताल छेउमा पुजारीसँग हिन्दुपरम्परा अनुसारको पूजा गर्दै नेदरल्यान्डका विदेशी नागरिक ।
लगिँदै गरिएका भेडाको बगाल– दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाबाट चरनका लागि लेकतर्फ लगिँदै गरिएका भेडाको बगाल । दश स्थानीय तह रहेको जिल्लाका अधिकांश लेकाली क्षेत्रमा भेडा पालन गरिन्छ ।
निर्माणाधीन डुरुवा–कोठेरी पुल– निर्माणाधिन अबस्थामा रहेको दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं १४ र १५ जोड्ने पुल । उक्त पुल निर्माण सुरु भएको पाँच बर्ष वित्दा पनि काम पूरा हुन सकेको छैन ।
रेविज विरुद्धको खोप लगाउन ल्याईएको कुकुर– दाङको तुलसीपुर उपमहानगरपालिका पशु सेवा शाखाले सुरु गरेको पशुमा रेविज विरुद्धको खोप कार्यक्रमअन्तर्गत खोप लगाउन कार्यालयमा कुकुर ल्याएर पुगेकी एक महिला ।
सैनामैनामा वितरण गरिएका कृषी यन्त्र तथा उपकरणहरु– रुपन्देहीको सैनामैना नगरपालिकामा किसानहरुलाई वितरण गर्नका लागि तयारी अवस्थामा नगरपालिका परिसरमा राखिएको कृषी यन्त्र तथा उपकरणहरु ।
गुडिया बनाउने तालिम– तनहुँको म्याग्दे गाउँपालिकाले आयोजना गरेको गुडिया तथा सजावटका सामग्री निर्माण तालिममा सहभागी वडा नं ४ का महिलाहरु । गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रमअन्तर्गत महिलाहरुलाई उद्यमी बनाउन तालिम आयोजना गरिएको हो ।